Ads

यस्तो छ देउवा–प्रचण्डले एमसीसीलाई पठाएको पत्र


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै एमसीसी विवादमा नयाँ मोड आएको छ ।

दुबै नेताले संयुक्तरुपमा पठाएको पत्रमा एमसीसी संसदबाट अनुमोदन गराउन केहि महिनाको अतिरिक्त समय मागेका छन् ।

यस्तो छ पत्र

 

सेप्टेम्बर २९, २०२१

श्री अध्यक्ष,
मिलेनियम च्यालेन्ज कर्पोरेसन सञ्चालक समिति
वासिंगटन, डीसी, २०००५
संयुक्त राज्य अमेरिका ।

विषयः नेपालसँगको एमसीसी कम्प्याक्ट (सम्झौता) अनुमोदन सम्बन्धमा,

श्री अध्यक्ष,

हामी अमेरिकी सरकार र त्यहाँका जनताप्रति न्यानो अभिवादन तथा शुभेच्छा व्यक्त गर्दछौं ।

नेपाल र अमेरिकाबीच हस्ताक्षर सम्झौता भई नेपालको अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सन् २०१७ सेप्टेम्बर १४ मा हस्ताक्षर भएको) र परियोजना कार्यान्वयन सम्झौता (२९ सेप्टेम्बर २०१९ मा हस्ताक्षर भएको) को प्रशंशनीय ढंगले कदर गर्दछौं ।

यस सन्दर्भमा, हामी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान गठबन्धन सरकारका नेताहरू संयुक्त रूपमा एमसीसी सञ्चालक समति समक्ष एमसीसी सम्झौताको अनुमोदनका लागि थप समय प्रदान गर्न अनुरोध गर्दछौं ।

यससम्बन्धमा विस्तृत छलफलहरू भएका छन् र अनुमोदन गर्ने हाम्रो प्रतिवद्धता कम्प्याक्ट सञ्चालन (अपरेसन)की उपाध्यक्ष फातेमा जेड सुमारको भ्रमणका क्रममा अवगत गराएका छौं । नवगठित यस संयुक्त सरकार यसलाई निष्कर्षमा पुर्‍याउन सबै प्रयास गरिरहेको छ ।

हामी यहाँसमक्ष नेपाल सरकार एमसीसीको अनुदान सुरक्षित गर्न र यसलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्न क्रियाशील रहेकोमा आश्वस्त तुल्याउन चाहान्छौं ।

एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता प्रदर्शन गर्दै कम्प्याक्ट अनुमोदनका लागि प्रतिनिधिसभामा आवश्यक सामान्य बहुमत पुर्‍याउन हामी आगामी चार–पाँच महिनामा निम्न कामहरू गर्न सहमत भएका छौं ।

हामी निम्नानुसार प्रतिवद्धता गर्दछौंः

– एमसीसीबाट प्राप्त भएका प्रष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्नेछौं ।

– नेपाल सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्नेछौं र कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउनेछौं ।

– गठबन्धनका साझेदार नेताहरू सहित संयुक्त पत्रकार सम्मेलन गरी एमसीसी सम्झौता अनुमोदनका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रस्तुत गर्नेछौं ।

– सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका सम्बन्धमा यथार्थ सूचना सम्प्रेषण गर्नेछौं ।

– एमसीए नेपाललाई आयोजनाका प्राविधिक पक्ष र सञ्चारसम्बन्धी गतिविधिलाई पूर्णता दिइ सकेसम्म छिटो कम्प्याक्ट कार्यान्वयनलाई तीव्रता दिनेतर्फ प्रोत्साहीत गर्नेछौं । र,

– प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं ।

यी गतिविधिले आगामी चारदेखि पाँच महिनाभित्र संसदमार्फत् कम्प्याक्ट अनुमोदनका लागि सहज अवस्था सिर्जना हुने विश्वास लिएका छौं ।
नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रवत् सम्बन्ध तथा सहयोगलाई मनन गर्दै एमसीसी सञ्चालक समितिले हाम्रो अनुरोधलाई स्वीकार गर्ने विश्वास लिएका छौं ।

शीघ्र सकारात्मक प्रतिक्रियाको अपेक्षा सहित ।

 

उही,

शेरबहादुर देउवा
प्रधानमन्त्री र सभापति नेपाली कांग्रेस

पुष्पकमल दाहाल

पूर्वप्रधानमन्त्री र अध्यक्ष
नेकपा (माओवादी केन्द्र)

 

Ads

सम्बन्धित पोष्टहरू