बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका नेताहरुले एमसीसीलाई गिजोल्ने काम गरेको बताउनु भएको छ ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले उनीहरुले देशभित्र एक थरी र अमेरिकासँग एकथरी कुरा गर्ने दोहोरो चरित्र देखाएको बताउनुभयो ।
‘५ महिनाभित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संसोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र सरकार र गठबन्धनका नेताहरुले देखाएका छन्’, ज्ञवालीले भन्नुभयो ‘एमसीसी सम्झौता गर्दा देउवा नै प्रधानमन्त्री थिए । माओवादीका नेताको दोहोरो चरित्रले त्यो बेला पास भएन । अहिले यो गठबन्धको जिम्मेवारी हो । बहुमत उहाहरुसँग छ । संसदमा ल्याएर छलफल गरेर टुंगो लगाउनुपर्छ ।’
ज्ञवालीले संसदमा छलफलमा ल्याउनका लागि सभामुखले बाटो छेक्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सदनले नै पास वा फेल गर्नेछ । सभामुखले सदनमा ल्याउन ढोका बन्द गर्नु हुदैन ।’
उहाँले सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्ने धारणा दिने जनाउनुभयो ।
एमाले उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्नुपर्ने सुझाउनुभयो । उहाँले भन्नुभयो, कुनै बहानाबाजी नगरी अलमल नगरी मिति घोषणा गर्नुस । अन्यथा लोकतन्त्र धरापमा जान्छ । बाहानाबाजी एमालेलाई मान्य छैन ।’
प्रतिक्रिया दिनुहोस्