काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै निर्वाचनको मिति घोषणा गरेको भन्दै ध्यानाकर्षण जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको केहि दिनपछि लोसपाले स्थानीय तहका पदाधिकारीको पदावधि बाँकि रहेको अवस्थामा निर्वाचन गर्नु अधिकारबाट बन्चित गर्नु र संविधानको मर्मविपरित भएको बताएको छ ।
नेपाल मधेश प्रदेशका लोसपा अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने भनिएको प्रति ध्यानाकर्षण गरेका छन् । विज्ञप्तीमा संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।
स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो ।
असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा वैशाख ३० मा चुनाव ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु अधिकारबाट बन्चित हुने विज्ञप्तीमा जनाएको छ ।
यद्यपी स्थानीय चुनाव घोषणा हुनु सकारात्मक रहेको रहेपनि संविधानअनुसार सबै चल्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्