Ads

रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु


काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।

अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।

“रेल्वे लिगमै हाटबजार लगाउँदै आएका छन्, जसका कारण हामीलाई रेल सञ्चालनको तयारीमा समस्या भइरहेको छ”, महाप्रबन्धक झाले भने, “हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।” हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ ।

खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ ।

उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २÷३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताएका छन् ।

-रासस

Ads

सम्बन्धित पोष्टहरू