Ads

इमर्जिङ नेपालको आईपीओमा पहिलो दिन नै पर्याे १४.४१ गुणा बढी आवेदन


काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिननै मागभन्दा धेरै आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ६ लाख ३३ हजार २१७ जना आवेदकले ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको ७४ लाख ४७ हजार ३२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको १४.४१ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो ।  कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि  सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

Ads

सम्बन्धित पोष्टहरू