Ads

बालुवाटार भेटवार्ताः प्रधानमन्त्रीले भने, ‘अब एमसीसी टेबल गरौँ’, प्रचण्ड–माधवको जवाफ, ‘हुन्न’


काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको भेटवार्ता बिना कुनै निष्कर्ष सकिएको छ । शिर्ष तीन नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालबीच एमसीसी परियोजना बारेको सहमति हुन नसकेको बताइएको छ । एमसीसी सम्झौतालाई प्रधानमन्त्री देउवाले टेबल गरौ भनेपछि प्रचण्ड माधव नेपालले पुरानै अडानमा कायम दोहराएका बताइएको छ ।

शिर्ष तीन नेताबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो , ‘प्रतिनिधि सभाको आउदो बैठकमा एमसीसीलाई टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’

तर, प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका खुमलटार स्रोतले बताए। एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने प्रचण्ड–नेपालले धारणा राखेको बताईएको छ । देउवा आउदो संसदको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड–नेपाल स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने पुरानै अडानमा छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो कुरा दोहोर्‍याएका थिए । दुई नेताले हतार गर्ने भए ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको बताइएको छ । प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए ।

अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ । बुधबार अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू