काठमाडौँ । मदन पुरस्कार विजेता अमर न्यौपाने नेपाली साहित्य जगतमा सर्वपरिचित छन् । उनले आफ्नो दोस्रो कृति ‘सेतो धरती’ बाट मदन पुरस्कार प्राप्त गरेका थिए । उनको जन्म वि. सं. २०३४ सालमा चितवन जिल्लाको रंगीलामा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा उनको जन्म भएको हो।
नेपाली साहित्यमा एकपछि अर्को मिठो कृति पस्कने अमरसंगको साहित्यीक भलाकुसारी
१) अहिले पनि याद आईरहने तपाईको बाल्यकालको एउटा मिठो किस्सा के छ ?
— पाँच कक्षा पढ्थें । नारायणगढको नारायणी कलामन्दिरमा मालती मङ्गले गीति नाटक लागेको थियो । यो नाटकले काठमाडौंमा कीर्तिमान राखिसकेको थियो । शनिवारको दिन । बासहित स्कूलका सबै शिक्षक मालती मङ्गले नाटक हेर्न जाने भए ।
बासँग मैले जिद्दी गरेँ, “म पनि जान्छु !”
बाले भन्नुभयो, “केटकेटीले हेर्नी नाटक होइन !” बासँग अलि डर लाग्ने भएकाले थप जिद्दी गर्न सकिनँ । बा नाटक हेर्न जानुभयो । म धेरै बेर सुकसुकाएँ । बेलुका फर्किंदा बाले मालती मङ्गले गीति नाटकको किताब पनि ल्याउनुभएको रहेछ ।
मलाई गीति नाटक भन्ने पनि थाहा थिएन तर किताब मन प¥यो । केटाकेटीले पनि बुझ्ने तरिकाले गीति शैलीमा लेखिएको रहेछ । लेखाइ सरल र सम्प्रेस्य लाग्यो । म यति धेरै प्रभावित भएँ कि त्यसको शैली नक्कल गरेर मैले गीति नाटक लेखें । तर कथा भने अर्कै थियो । गीति नाटकको नाम राखेको थिएँ— पहिलो भेट, जहाँ दुई प्रेमीप्रेमिका पहिलो भेट गर्नका लागि नदीमा हाम्फालेर भेट गर्छन् । त्यो नै पहिलो र अन्तिम भेट हुन्छ ।
त्यो बेला अम्बा लेखेको ३० पाना अर्थात् ६० पृष्ठको कापी पाइन्थ्यो । त्यो कापी भरेको थिएँ ।
२) पहिलो कृति ‘पानीको घाम’ लेखिरहदा भैरहेको हतास र उत्साहमाथी प्रकाशन पछिको अनुभव कस्तो रह्यो ?
— पानीको घामले मलाई लेखकको रूपमा जन्मायो । यसकारण पनि यो किताबसँग मेरो विशेष प्रेम छ । यो किताब जिटिजेड नामक जर्मन संस्थाको फेलोसिफमा लेखिएको हो । पाँच शहरमा पाँच लेखक दुई महिनासम्म बसेर किताब लेख्नुपर्ने थियो ।
नेपालगन्जका लागि म छनौट भएको थिएँ । भक्तपुरमा कृष्ण धरावासी, बुटवलमा भीष्म उप्रेती, धरानमा सीमा आभास र धनगढीमा प्रकाश आङ्दम्बे छनौट भएका थिए । यसरी छनौट हुनु नै मेरा लागि ठूलो अवसर र चुनौती थियो । त्यसैले म एकदमै उत्साहित पनि थिएँ र डराइरहेको पनि थिएँ । हामीलाई गाइड गर्ने कोही थिएन । जिटिजेडका इन्जिनियर राजेन्द्र प्रधानाङ्ग हाम्रो परियोजनाका संयोजक थिए । तैपनि आफ्नै तरिकाले प्रयास गरेँ । नेपालगन्ज म पहिलोपटक गएको थिएँ । पहिलो पटक गएको ठाउँमा सबै कुरा नयाँ लाग्छन् । यो किताब लेख्ने क्रममा मैले आफ्नै तरिकाले समाजसँग नजिक हुन र त्यहाँका मानिसहरू भित्र छिरेर कथा खोज्न सिकेँ ।
किताब २०६६ भदौमा लोकार्पण भयो । लोकार्पण भएको राति म डरले सिरकले मुख छोपेर सुतेको थिएँ— अब मानिसहरूले के भन्ने हुन् ?
तर किताबले सुस्त गतिमा पाठकहरू कमाउँदै गयो । प्रशंसा पनि पाउँदै गयो । आमपाठकसम्म त पुगेको थिएन । साहित्यिक वृत्तमा भने राम्रै प्रशंसा पायो । त्यो वर्षको पद्मश्री साहित्य पुरस्कार पायो । एकेडेमिक क्षेत्रमा पनि यसको प्रयोग र शैलीको प्रशंसा भयो । पानीको घाम लेखेपछि मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो— आख्यान लेख्न पनि समाजमा गएर समाज र मानिसको अध्ययन गर्न जरुरी छ । यही प्रेरणाले म ०६८ सालमा देवघाट गएँ र एक महिनासम्म बसेर बालविधवाहरूको अध्ययन गरेँ ।
३) मदन पुरस्कार पाउन सफल कृति ‘सेतो धरती’ लेख्ने उर्जा कसरी पाउनुभयो ?
— माथिको प्रश्नको उत्तर जहाँ टुङ्ग्याएको छु त्यहींबाट यो प्रश्नको उत्तर सुरु हुन्छ । फिल्डमा गएर लेख्नुपर्छ भन्ने लागिसकेपछि म देवघाट जाने भएँ । किनभने विविध कारणले त्यहाँ जीवनको उत्तरार्ध बिताउन धेरै बूढाबूढीहरू बसेका छन् । उनीहरूसँग धेरै कथा छन् । ती कथा लेख्न जरुरी छ भन्ने लाग्यो । अझ महत्त्वपूर्ण कुरा, एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको बूढाबूढीहरुको के हुन्छ ?
आफैले उत्तर दिएँ— अतीत हुन्छ ।
अतीतमा के हुन्छ ?
कथा हुन्छ ।
लाग्यो, त्यो कथा लेख्न जरुरी छ । बूढाबूढीहरुको कथा लेख्ने उद्देश्यले २०६७ घटस्थापनाको दिन म देवघाट गएँ । जाँदा देवघाट जान बस लाग्ने ठाउँ चितवनको पोखरा बसपार्क— बसमा एक जना आमा देखिनुभयो । उहाँलाई पछ्याउँदै गएँ । उहाँ भेटिनुभयो । उहाँलाई मात्र होइन, उहाँको कथा पनि भेटेँ । यो कुरा सेतो धरतीको भूमिकामा ‘सेतो धरतीको आलम्बन’ शीर्षकमा लामै लेखेको छु । धेरैले पढ्नुभएको होला । ती आमाको नाम शीतला आमा । बूढाबूढीको कथा लेख्न गएको म शीतला आमाकै कथाका कारण सेतो धरती मा केन्द्रित भएँ र ०६८ साल वैशाखमा एक महिनासम्म देवघाट बसेर बालविधवा आमाहरुको अध्ययन गरेँ । त्यसैले यो उपन्यास बालविधवा आमाहरुको जीवनको पाइलाले लेखको हो । उहाँहरु नै सेतो धरतीको प्रेरणा हुनुहुन्छ ।
४) यो कृति लेखिरहदा कहिकतैँ मनमा लागेको थियो ? साच्चै पाठकको मन यति उच्च सफलताका साथ जित्न सक्छु भनेर ?
— लेख्दालेख्दै कहिले आँसु कापीमा झथ्र्यो र अक्षरहरु फुल्थे; कहिले नाडीका रौँ ठाडा हुन्थे; कहिले मन ढुक्क भएर फुल्थ्यो । अनि लागेको थियो, पाठकहरुको मन र मेरो उस्तै त हो । उहाँहरुलाई पनि यस्तै होला भन्ने लागेको थियो ।
५) तपाईको पछिल्लो कृति ‘गुलाबी उमेर’ मा पाठकले दिएका प्रतिक्रियाहरु के कस्ता छन् ?
— गुलाबी उमेर प्रतिको प्रतिक्रिया मिश्रित छ । गुलाबी उमेरकाले भनेका छन्— तपाईंले हाम्रो कथा लेखिदिनुभयो । अङ्ग्रेजीमा भनिने टिनएजलाई नेपाली नाम दिएर हाम्रो मनोविज्ञान र जीवनका उतारचढाव लेखिदिनुभयो । हामीलाई ऐना हेरे जस्तै भयो । ऐना बारबार हेर्न मन लाग्छ । किनभने ऐनामा आफूलाई देखिन्छ । तपाईंको किताब हाम्रो जीवनको ऐना हो ।
केही पाठकले भनेका छन्— पानीको घाम, सेतो धरती र करोडौँ कस्तूरी जस्तो गम्भीर आख्यान लेख्नेले किन हलुका विषय लेख्नुभयो ?
मैले उत्तर दिएँ— गुलाबी उमेर नै हलुका उमेर हो । यो उमेरका विचार, निर्णय, भावना हलुका हुन्छन् । तर यो उमेरका विचार, निर्णय र भावना पाकेपछि आफै गम्भीर र ओजिला हुन्छन् ।
६) लेखक अमरको नजरमा साहित्य के रहेछ ?
— जीवन र ध्यानको समागमबाट हृदयले जन्माउने सन्तानको नाम नै साहित्य हो ।
७) साहित्यीक यात्राको सुरुवातदेखि अहिले सम्म आईपुग्दा लेखन र प्रकाशनमा भोग्नुपरेका चुनौती र सहजता के कस्ता छन् ?
— यो प्रश्नको उत्तर धेरै लामो पनि हुन सक्छ । तर म छोटकरीमा भन्छु— लेखनमा मलाई चुनौती छ । जहिले पनि चुनौती लाग्छ । चुनौती नमानी सहज रुपले लेखिएका आख्यान भने राम्रा भएका छन् । जस्तो पानीको घाम र सेतो धरती चुनौती बिना सहज तरिकाले छोटो समयमा लेखिएका आख्यान हुन् । कहिलेकाहीं लाग्छ, धेरै कन्सियस हुनु भनेको पनि कमजोर हुनु हो ।
प्रकाशनको सन्दर्भमा मलाई कहिल्यै गाह्रो भएन । बरु मैले नै प्रकाशकले र पाठकले मागे अनुसार किताब लेख्न सकेको छैन । लेखेका कुरालाई सही व्यवस्थापन र पूरा गर्न सकेको छैन ।
८) आफूले जन्माएका कृति र पात्र सबै प्रिय नै हुन्छन्, तर पनि ती मध्य तपाईका कृतिमा तपाईलाई सबैभन्दा प्रिय लाग्ने पात्र कोही छ ?
— मलाई पानीको घामको चुकुल र ईश्वरसँग मुद्धा कथाको मन्नुराम भन्ने पात्रको असाध्यै धेरै माया लाग्छ । सेतो धरतीकी ताराप्रति सबैभन्दा धेरै करुणा जाग्छ । सेतो धरतीकी पवित्राको जीवनका मोड र निर्णयहरु देखेर अचम्म लाग्छ । करोडौं कस्तूरीको हरिवंशप्रति सहानुभूति लाग्छ र गुलाबी उमेरकी वेदांशी देखेर अचम्म लाग्छ ।
तर म सबैभन्दा प्रभावित सेतो धरतीकी यमुना भन्ने पात्रबाट छु । आफ्नो पति परलोक गएपछि उनको मनमा आएको वैराग्य सच्चा र शुद्ध छ । उनी मनकी संन्यासी हुन्; बुद्ध हुन् ।
९) कुनै कथाहरु लेख्दालेख्दै रोकिएका र छोडिएका छन् ?
— यस्तो त धेरै छ । गणना गरेर साध्य छैन । कथाका सबै फलहरू बिउ हुँदा रहेनछन् । सबै बिउहरु बिरुवा हुँदा रहेनछन् ।
१०) तपाईंको लेखनयात्रामा श्रीमतीको साथ कस्तो छ ? तपाईं लेख्न बसिरहेको बेला उहाँ प्रायः के गर्नुहुन्छ ?
— उनको पनि साहित्यमा रुची छ । बेलाबेला नाटक र लेखहरू लेख्छिन् । उनको क्लेशाः भन्ने नाटक मण्डला थियटरमा मञ्चन भएको थियो । त्यही नाटक यसै वर्ष भारतमा हुने नेसनल स्कूल अफ ड्रामा भन्ने संस्थाले नेपालबाट छनौट पनि गरेको छ । उनको अध्ययन पनि अङ्ग्रेजी साहित्य हो । त्यसैले आफूले लेखको कुरा उनलाई देखाउँदा मलाई धेरै फिडब्याक दिन्छिन् । ती फिडब्याक महत्वपूर्ण लाग्छन् ।
म लेखिरहेको बेला उनी हेर्न आउँछिन् तर म भन्छु— म लेखिसकेपछि मात्र देखाउँछु । के लेख्दै छौ भनेर पनि मलाई नसोध । म नभएको बेलामा पनि नहेर । सिद्धी भङ्ग हुन्छ ।
लेखेको कुरा पूरा नगरी अधुरो पाण्डुलिपि सकेसम्म म कसैलाई पनि देखाउँदिनँ ।
११) अब अर्को नयाँ कृतिका लागि पाठकले कति समय पर्खनुपर्छ ।
— यही मितिमा आउँछ भनेर अहिले भनिहाल्न सक्तिनँ । तर मैले एकसाथ तीनचार ओटा आख्यानमा काम गरिरहेको छु ।
१२) आजको साहित्यीक गफमा एउटा अन्तिम प्रश्न : करोडौ कस्तुरीले दिएको एउटा मिठो सन्देश छ नी, ‘मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ ।’ के साच्चै अमर न्यौपाने नेपाली साहित्यको खजाना बन्ने गुण लिएर जन्मिएका हुन् ?
— हो, संसारमा त्यस्तो मानिस कोही हुँदैन, जोसँग केही नहोस्; त्यस्तो मानिस पनि कोही हुँदैन, जोसँग सबैथोक होस् । यो उपन्यास शैक्षिक उपन्यास हो । शिक्षाभन्दा सिर्जनशीलता ठूलो हो तर सिर्जनशीलतामा जाने बाटो शिक्षा नै हो । आफ्नो बारेमा म अहिले नै यसै भन्न सक्तिनँ । लाग्छ, म आख्यान लेख्न नै जन्मेको हुँ । तर गतिलो लेखें कि लेखिनँ भन्ने कुरा पछि समयले मूल्याङ्कन गर्नेछ ।
— खबरपोष्टका लागि समय दिनुभएकोमा धन्यवाद । लेखनयात्रा शुभ रहोस् ।
प्रतिक्रिया दिनुहोस्