जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उनले बताए । यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको हो । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको बताइएको छ ।
२०७७ असोज २ गते भारतबाट खरिद गरेर ल्याएको नेपाली रेल धनुषाको इनर्वा स्टेशनमा राखिएको छ । थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ । यसमध्ये १२ जना आइपुगेको र संचालन भएपछि १२ जना आउने विभागले जनाएको छ ।
रेल संचालनका लागि तीन जना स्टेशन मास्टर, १० जना टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ । यसमध्ये टिकट सेलर अधिकांश महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्