काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा खराब प्रदर्शन गर्दा नेपाल चार देशीय टी २० सिरिजको अन्तिम खेलमा आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।
दीपेन्द्र सिंह ऐरीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि टेष्ट राष्ट्र आयरल्याण्डलाई १२७ रनमा अलआउट गरेपनि नेपाल जितबाट वञ्चित रह्यो । १२८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालले आयरल्याण्डलाई १३।३ ओभरमा हराएको भए सिरिज नै जित्ने अवसर थियो । तर सफल हुन सकेन । उत्कृष्ट बलिङ गरेको नेपालले लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गर्यो । यसअघि दुई खेल नखेलेका कुशल भुर्तेल र आसिफ शेखको नेपालको ओपनिङ जोडीको रुपमा आएका थिए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ४।१ ओभरमा २६ रनको साझेदारी गरे । कुशल ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम छैटौं ओभरमा व्यक्तिगत ६ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाएर आठौं विकेटमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि ५ रन बनाएर १२औं ओभरमा आउट भए । त्यसपछि आएका शरद भेषावकर १ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले ६६ रनमा पाँचौ विकेट गुमायो।
दीपेन्द्र सिंह ऐरीले कुशल मल्लसंग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले २२ रनको साझेदारी गर्यो । अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि २४ रन आवश्यक थियो । तर १९औं ओभरको तेस्रो र चौथो बलमा कुशल मल्ल र कमल सिंह ऐरी लगातार आउट भए । कुशलले १६ बल खेल्दा जम्मा ९ रन बनाए । कमलले १० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा १३ रन जोडे ।
अन्तिम ओभरमा सन्दीप १ रन बनाएर आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले इनिङ्सको अन्तिम बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो । उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरुवातदेखि नै दबावमा राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्