Ads

निर्वाचन हुन नदिने षडयन्त्र सफल हुन दिन्नौं : एमाले उपाध्यक्ष पौडेल


बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले  निर्वाचन हुन नदिन गठबन्धन सरकार षडयन्त्रमा लागे पनि त्यो सफल हुन नदिने बताएका छन् ।

सरकारमा सहभागी दलका नेताले स्थानीय तहको निर्वाचन रोक्ने योजनामा महाअभियोगको फण्डा ल्याए  पनि त्यो सफल हुन नदिने  उनले बताए ।

एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले भने ‘यो निर्वाचन कुनै पनि बहानामा रोक्न दिइने छैन, तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न एमालेले खबरदारी गर्नेछ  ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि सरकार पूर्ण रुपमा असफल भएको उनले बताए ।

उनले भने ‘सबै राजनीतिक दलको परीक्षा भएको छ, जनता तथा राष्ट्रको पक्षमा काम गर्ने पार्टी र सबैप्रकारका विभेद समाप्त गर्ने पार्टी एमाले हो,।’

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले रोहिणी र ओमसतिया गाउँपालिकासंगै क्षेत्र नम्बर १ लाई विकसित गर्दै लैजाने प्रतिवद्धता उनले व्यक्त गरे ।

सिंगो जिल्लालाई विकासका दृष्टिकोणले माथि उठाउने उनले बताए । उनले भने, ‘विकासको आवश्यकतालाई पूरा गर्छौं, एमालेले विकासको जिम्मेवारी लिन्छ, सबै प्रकारका विभेद र असमानता हटाउँछ ।’

नेकपा एमालेका सचिव, पूर्वमन्त्री छविलाल विश्वकर्माले विकास र समृद्धिको आंकाक्षा पूरा गर्ने पार्टी एमाले भएको बताए । उनले विकास एमालेको प्राथमिकतामा भएको र विकास, समृद्धिको पक्षमा रहेका जनता एमालेको पक्षमा रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू