काठमाडौँ । झर्रोवादी आन्दोलनका अगुवा हुन् डा.तारानाथ शर्मा । १९९१ असार ९ गते पिता प्रजापति उपाध्याय र माता देवकीको पहिलो पुत्रका रूपमा उनको जन्म भएको थियो ।
उनको वास्तविक नाम तारानाथ भण्डारी हो । तर बनारसमा पढ्न गएपछि आफ्नो नाममा शर्मा लगाएका उनलाई साहित्यमा ताना शर्माका नामले चिनिन्छ । इलाम बरबोटेमा जन्मेका उनी नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, उपन्यासकार, समालोचक र कथाकार पनि हुन् ।
शर्माले २०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चुडामणि रेग्मी, बल्लभमणि दाहालहरुसंग मिलेर झर्रोवादी अभियान सुरु गरेका हुन् । ‘नौलो पाइलो’ नामक पत्रिका प्रकाशन गर्दै झर्रोवादबारे अन्य विभिन्न पत्रिकामा पनि प्रकाशन गरे ।
६ कक्षासम्म फिक्कलमै पढेका उनी दार्जिलिङको सेन्ट जोसेफमा एकै पटक नौ कक्षामा भर्ना भएका थिए सधै प्रथम हुने शर्माले १२ कक्षासम्म दार्जिलिङमै पढे । त्यसपछि बनारसबाट बि ए गरेर नेपाल फर्किएका शर्मा दोस्रो भाषा अंग्रेजीमा स्नातकोत्तर अध्ययनका लागि पटना पुगेका थिए । उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट विद्यावारिधि भाषाविज्ञानमा गरे । विद्यावारिधि सकेर नेपाल फर्किएका उनले एक समय त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गरे । बेलाबखत अमेरिकामा आगन्तुक प्राध्यापकका रुपमा पनि उनले केही वर्ष काम गरेका थिए ।
२००८ सालमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा शर्माको पहिलो निबन्ध ’इलाम’ शीर्षकमा छापिएको थियो । ‘इलाम’ निबन्ध छापिएपछि नेपाली साहित्यमा उनको यात्रा सुरु भयो । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्धसंग्रह २०१८ सालमा प्रकाशन भएको हो । दोस्रो कृति २०२१ सालमा ‘घोत्ल्याइहरू’ समालोचना संग्रह प्रकाशित भयो । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह २०२० मा र गुरूप्रसाद मैनालीको ’नासो’ कथा सङ्ग्रह २०२१ मा प्रकाशन भएका थिए जसलाई शर्माले नै सम्पादन गरेका हुन् ।
निबन्ध संग्रहमा मदन पुरस्कार पाउने पहिलो कृति हो, ‘बेलाईततिर बरालिँदा’ शर्माको यस कृतिले २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको हो । ‘सम र समका कृति’ का लागि २०२९ सालमा शर्माले साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरेका शर्माले २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार समेत पाएका थिए । उनलाई वि.सं. २०४५ मा गान्तोक –सिक्किम–मा अभिनन्दन गरिएको थियो ।
पुस्तकका बारेमा खुलेर आलोचना गर्ने शर्मा मवीवि शाहको ‘उसैका लागि’ कविता संग्रह आलोचना गर्दा तीन महिनाको जेलजीवन विताएका थिए । तर बालकृष्ण समको ’चिसो चुल्हो’ कृति समालोचना गर्दा उनीहरुबीच निकटता बढ्न पुगेको थियो । नेपाली साहित्यमा निबन्ध, समालोचा, कथासंगै उनका पाँचवटा उपन्यास २०३० मा ‘सुली’, २०२३ मा ‘मेरो कथा’, २०२३ मा ‘ओझेल पर्दा’, २०३५ ‘झझल्को’ , २०४८ मा ‘नेपालदेखि अमेरिकासम्म’ प्रकाशित भएका छन् । उनी समालोचनामा यति अब्बल थिए की समालोचना क्षमताका अघि उनका उपन्याससंगै केही कृतिहरु ओझेल परे ।
नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका शर्माको सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित भएका छन् । नियात्राका सगरमाथाका रुपमा चिनिएका शर्मा मंगलबार हामीबिचबाट भौतिक रुपमा सदासदाका लागि बिदा भए ।
नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याएका शर्माप्रति हार्दिक श्रद्धा सुमन ।
प्रतिक्रिया दिनुहोस्