Ads

एमसीसीबारे चीनको चासो : अमेरिकी ‘जबर्जस्तीपूर्ण कूटनीति’को प्रतिरोध गर्ने चेतावनी


बेइजिङ । एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त कुरा बताएका हुन् ।

झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेव्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको हो । ‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उध्दृत गर्दै चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

पिनले भने, ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीन स्वागत गर्छ तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्छ ।’

नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताउँदै प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गर्न नेपाललाई साथ दिने समेत बताए ।

एमसीसीलाई लिएर हिंसात्मक गतिविधि स्वीकार्य छैन : अमेरिका

उता नेपालमा एमसीसी विषयलाई लिएर सडकदेखि सदनसम्म तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक क्रियाकलापलाई स्वीकार्न नसकिने बताएको छ।

एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताउनु भएको छ । उहाँले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भन्नुभएको छ । तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि भने कदापि स्वीकार्य नहुने जनाउनु भएको छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरी भन्नुहुन्छ- ‘हामी एमसीसीका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदान-प्रदान गर्न अनुमति दिनुपर्छ । तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’

Ads

सम्बन्धित पोष्टहरू