Ads

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर


झापा । सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् ।

आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र विर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ । पालिकाको कामाटोली बजारमा विगत पाँच वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ । तर, विगत दुई वर्षको अवधिमा पालिकामा तीन हजार ११७ बालबालिकाको जन्म भए तापनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए ।

पालिकाले स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो । जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ । सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ ।

उनका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७÷०७८ मा ११ र २०७६÷०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उहाँले बताए । उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए ।

गतबर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए । दोस्रोपटक जाँच गराउनेको सङ्ख्या घटेर १५४ मा सीमित भएको थियो । तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको सङ्ख्या ७८ रहेको थियो । प्रसूति हुनेको सङ्ख्या ११ रहेको उहाँको भनाइ छ । “पैसा हुनेहरु विराटनगर, विर्तामोडतिर जान्छन्”, प्रमुख विकले भने, “चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन् ।”

उनले गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेको बताए । बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको बताउँदै उनी भन्छन् , “अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो ।”

गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७÷०७८ मा दुई हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताए । जसमध्ये ९८७ बालिका र एक हजार ३१ बालक रहेको उहाँको भनाइ छ । यसैगरी अघिल्लो आव २०७६÷०७७ मा एक हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू