काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आँखा चिम्लिएर स्वीकार गर्ने बताएका छन् । संसदमा आइतबार टेबल भएको एमसीसी त्यहिबाट पास गर्न सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास रहेको बताए ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’
सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ । संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।
एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि कांग्रेसले भेटघाट र सम्बाद बढाएको छ ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसीलाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको र राष्ट्रघाती भनिएको बताए । एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ । नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्