Ads

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।

सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज(मंगलबार) आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उनले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले त्यसबारे जानकारी राख्नुपर्ने बताउँदै आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउनसमेत सबैमा आग्रह गरेका छन् । “कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ, नेपालमा महामारीले निकै सङ्कटको अवस्था सिर्जना ग¥यो, लाखौँको सङ्ख्यामा सङ्क्रमित भयौँ र हजारौँको ज्यान गयो,” उनले भने, “महामारीले ल्याएको सङ्कटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ, यो सकारात्मक पक्ष हो ।”

अध्यक्ष तिमिल्सिनाले यस्तै प्रकृतिको कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा क्रमशः आयोजना हुने जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरेका छन् । -रासस

Ads

सम्बन्धित पोष्टहरू