काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली जत्तिको नेता नरहेको बताएका छन् ।
समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै राजदूत आचार्यले संकटको समयमा केपी शर्मा ओलीले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताएका छन् । उनले भारत लगाएतका अन्य मुलुक सामु राष्ट्रियताको पक्षमा ओलीले देखाएको अडिकपनले नेपालको पहिचान र परिचय फराकिलो बनाउन सहयोग पुगेको बताए ।
नेपाली राजनीतिमा ओली जस्ता नेताहरुको खाँचो रहेको भन्दै आचार्यले नेपालको विकास र समृद्धिमा ओलीले देखाएको बाटो नविन भएको बताएका छन् । उनले सपना देख्ने र देख्न सिकाउने एमाले अध्यक्ष ओलीको भिजन राष्ट्र निर्माणका लागि महत्वपूर्ण रहेको भन्दै अन्य दल र नेताहरुले पनि यसलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
आचार्यले भने, ओली नेपालको सबभन्दा अग्लो नेताका रुपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन, किनकी पदमा हुँदा होस्, नहुँदा होस् जिम्मेवारी पनि अग्लो हुन्छ । एक फरक प्रशंगामा उनले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताएका छन् । अहिले अदालतदेखि संसदसम्म समस्या रहेको भन्दै उनले कांग्रेस र एमाले सँगसँगै आउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्