काठमाडौं । प्रतिनिध सभाको बैठक आज (बिहीबार) बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको छ।
आजको बैठमा अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल हुने बताइएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।
एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत बन्न सकेका छैनन् । साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसंग छलफल गरेका छन् ।
एमसीसीको विषयलाई लिएर सडकमा भईरहेको विरोध प्रर्दशन आज पनि हुने भएको छ । आज विहानै देखी विभिन्न स्थानमा सुरक्षा चेकजाँच बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्