Ads

एमसीसीबारे जसपामा दुई पक्ष, सांसदहरुले आफ्नो विवेक प्रयोग गर्ने


काठमाडौं । बिहिबारदेखि प्रतिनिधिसभामा एमसीसीको बारेमा छलफल सुरु हुँदैछ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भने दुई पक्ष देखिएको छ । उसले एमसीसीका बारेमा के गर्ने भनेर प्रष्ट निर्णय गर्न सकेको छैन ।

एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुँदा जसपाका कतिपय सांसद पार्टीको निर्देशन कुरेर बसेका छन् भने कतिपय सांसदले आफ्नै विवेक प्रयोग गरेर बोल्ने भएका छन् । जसपामा एमसीसीलाई लिएर दुई पक्ष देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् तर उनले हालसम्म आधिकारिक धारणा ल्याएका छैनन् । सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसीको पक्षमा छन् ।

आन्तरिक विवादका कारण लामो समयदेखि जसपा नेपालको बैठक बस्न सकेको छैन । पार्टीका केहि सांसद विपक्षमा र केहि सांसद पक्षमा मत दान गर्ने सोचमा रहेका स्रोतको भनाइ छ ।
सांसद रेणु गुरुङ आफू एमसीसीको विपक्षमा रहेको बताइन् । एमसीसी देशको हितमा नरहेको कारण आफू त्यसको विपक्षमा उभिएको बताउँदै उनले पनि पार्टीको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिइन् । यद्यपि पार्टीको आधिकारिक धारणा आएन भन्दैमा सांसदहरु त्यतिकै चुप लगाएर बस्न पनि नहुने उनको भनाइ छ ।

केहि सांसद भने पार्टीको आधिकारीक धारणा आउनु पर्ने बताउछन् । तर जसपाले अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सांसदहरुलाई भेटेर एमसीसीको पक्षमा बोल्न आग्रह गरिरहेका छन् । पार्टीका १९ जना सांसदमध्ये १२ जनाभन्दा बढी एमसीसीको पक्षमा रहेको बाबुराम पक्षको दाबी छ ।

 

Ads

सम्बन्धित पोष्टहरू