काठमाडौं । केहि दिन पहिला नेपाल वायु सेवा निगमको कतार उड्न तयार भएको विमानमा पासपोटै र भिसा नै नभएको व्यक्ति भेटिएका थिए । बोर्डिङ पास नै नगरी बिना भिसा पासपोर्ट नै उड्न तयार भएको विमानमा पुगेका व्यक्तिका बारेमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उक्त घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।
निगमले तत्कालै क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ ।
निगमको विमान दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजमा बोर्डिङपास र सुरक्षा चेकजाँचबिना नै रौतहटका १८ वर्षीय हस्पम आलम विमानमा पुगेका थिए ।
सो घटनाको छानबिनका लागि मन्त्री आलेले निर्देशन दिएका थिए । छानबिन समितिलाई शुक्रबारसम्मको समय दिइएको छ ।
विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग बोर्डिङ पास मागेका थिए । तर उनीसंग केहि बोर्डिङ पास , पासपोर्ट ,टिकट र भिसा थिएन । उनी मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्