काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भागलिनको लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
शुक्रबार आयोगको केन्द्रीय कार्यलय कान्तिपथ काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलसहित नेताहरुले स्थानीय तह निर्वाचनमा भाग लिनको लागि दल दर्ता गराउन निवेदन दिएको हो ।
स्थानीय तह निर्वाचनमा भाग लिनको लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले संञ्चारकर्मिलाई जानकारी दिए ।
‘स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । हामीले त स्वाभाविक रुपमा समयमै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा थियौं ।’ उनले भने, ‘ हामी तयारीमा पनि जुटिसकेका छौं । अहिले देशभरि नै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु ।’
यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ ।
उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गनेक्रम जारी छ । फागुन १५ गतेसम्म दर्ता भएको राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका भाग लिन पाउछन् ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्