Ads

एमसीसी सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन, म हिँड्छु ढुंगा हान्छन् : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हारिने डरले सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका छन्।
शुक्रबार कास्कीको पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको पनि बताए । उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि भोक लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो । निर्वाचनको हिसाबकिताब गर्छन् अनेक खालका । तर चुनावमा हार्ने डरले निन्द्रा लाग्दैन ।’

ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको आरोप लगाए ।

काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने दाबी गरे । उनले वास्तविक कम्युनिस्ट पार्टी एमालेमात्र भएको बताए । उनले भने , ‘जहाँ नेपाली त्यहाँ एमाले भइसकेको छ । गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन ।’

उनले एमालेको विचारले मात्रै देश बन्ने अरु पार्टीसँग देश बनाउने विचार नै नभएको दावी पनि गरे । ‘हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विचार छ अरु पार्टीसँग छैन’ ओलीले भने, ‘२४ लाख खोप कहाँ हरायो ? तमासा पनि हदको हुन्छ नि ।’

एमसीसी विरुद्धको आन्दोलनलाई लक्षित गदै ओलीले सरकारमा बसेकाहरुले नै कार्यकर्ता पठाएर सडक भत्काएको र प्रहरीलाई ढुंगा हान्ने गरेको बताए ।

ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको टिप्पणी गरे।

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्,’ ओलीले भने, ‘सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’

ओलीले थपे, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालमा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्‍यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटाबाट हिँड्छु ढुंगा हान्छन् ।’

Ads

सम्बन्धित पोष्टहरू