काठमाडौं, फागुन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपाल सत्ताका लागि जे पनि गर्ने चरम अवसरवादी भएको पुष्टि भएको बताउनुभएको छ ।
प्रचण्ड र नेपालका दर्जनौँ क्रियाकलापबाट यो पुष्टि भइसकेको र त्यो तथ्यहरूले अव सत्यसँग लड्न नसक्ने पोखरेलले बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले उहाँहरूको तथ्य र सत्य उजागर गर्नुभएको छ । महासचिव पोखरेलले एमाले अध्यक्ष तथा तात्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध लगाइएको १२ आरोप शतप्रतिशत झुटो रहेको तथ्यलाई प्रचण्ड र माधवले प्रमाणित गरेको तथ्य पनि खोल्नुभएको छ ।
हेर्नुहोस् पूर्णपाठ
नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसँग लड्न सकिदैन र हुँदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।
१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नपाली कांग्रेस दुवैले अस्वीकार गरे ।
२. ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउने गरी ल्याएको अध्यादेशको विरोध गरे । कांग्रेस समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।
३. पार्टी एकताका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैंले अघि सारेको मान्यता विपरीत पार्टी र दल नेता वन्न पुगे ।
४. नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेबुल गर्नमा रोक लगाए । तर कांग्रेसले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
५. एमसीसी मार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका वेलामा सम्झौता समेत गरे । तर एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउने देखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्ताबाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।
६. नेकपा गठनपछि आफैंले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको कांग्रेसको नेतृत्वको सरकारमा निशर्त सहभागि भए ।
७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
८. माधव नेपालले सदैव आफूलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धति उलंघन गर्ने नेताका रुपमा आफूलाई प्रस्तुत गरे ।
९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङबाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधीश माथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।
१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यवाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया बन्न पुगेका छन्।
११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठवन्धन अपरिहार्य रहेको वताउन थालेका छन् । चुनावमा जान खुट्टा कमाइ रहेका छन् ।
१२. नेकपा भंग भएपछि नेकपा(एमाले)सँग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जव एमसीसी प्रकरणमा कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा(एमाले)सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।
यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैवाट सञ्चालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ ।
यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?
प्रतिक्रिया दिनुहोस्