काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले एमालेले संसदको अवरोध अन्त्य गर्नु पर्ने बताएको छ । बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।
चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।
लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न नेतृत्व गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको प्रशंसा गरेका बताइएको छ ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने समेत बताएको स्रोतको दाबी छ। देउवाले वर्तमान गठबन्धन चुनाव र त्यसपछि गठन हुने सरकारसम्मै रहने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्