काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामा भ्रम छर्न गरेको बताएका छन् ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिवले कानून र संविधानले मान्यता नदिएको विषय व्याख्यात्मक भन्दै जनतालाई भ्रमित पारिएको बताए ।
‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उनले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’
एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको उनले स्पष्ट पारेका थिए ।
महासचिव पोखरेलले भने, ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए ।’
उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ ’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ । ’
एमालेसँग प्रधानमन्त्रीले पटक–पटक गरेको छलफल बारे पनि पोखरेलले प्रष्ट्याएका छन् । उनले भने, ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो त्यो जनताले देखिसकेका छन् । ’
‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता देखाएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्