Ads

अन्यथा ठूलो दुर्घटना हुन सक्छ


अर्जुन ज्ञवाली
नेपालमा लोकतन्त्रको खाँचो थियो, लोकतन्त्र आयो । गणतान्त्रिक लोकतन्त्र चाहिएको थियो, त्यो पनि आयो । संघीयता चाहिएको थियो, त्यो पनि आयो । संघीय लोकतान्त्रिक गणतन्त्र नाम लिएर लोकतन्त्र आयो । यसका लागि पचास–साठी वर्षदेखि नेपाली जनताले संघर्ष गरेका थिए, अभीष्ट पूरा भयो । साठी र सत्तरीको दशकमा आइपुग्दा नेपाली जनताको अभीष्ट इतिहासमा सुनका अक्षरले लेखिने गरी आयो । मतलव, ठूलो युगान्तकारी परिवर्तन भयो । अव बाँकी छ भने युगान्तकारी परिवर्तनको अनुभूति आउन बाँकी छ ।
त्यत्रो युगान्तकारी परिवर्तन आउने, त्यसको अनुभूति चाँहि नआउने भन्ने कुरा गम्भीर प्रश्न हो । यसको उत्तर आवश्यक हुन्छ । यो प्रश्न अनुत्तरित रहँदा सम्म दुर्घटनाको संभावना हुन्छ । यसको उत्तर छ, उत्तर नभएको होइन । युगान्तकारी परिवर्तनको दौरान संविधान बन्यो । त्यस अन्तर्गत तीन÷तीनवटा चुनाव भए । पार्टीहरु पुनर्गठन भए । त्यस क्रममा नेतृत्व पनि परिवर्तन भयो । पालिकादेखि प्रदेश हुँदै संघमा नेतृत्व परिवर्तन भयो । नेतृत्व फेरिंदा रूप फेरियो तर प्रवृत्ति फेरिएन । रूप फेरियो, सार फेरिएन । अझै सजिलो पारेर भन्दा अनुहार फेरियो, व्यवहार फेरिएन । नेता फेरिए, तिनको चरित्र फेरिएन । यही तात्विक कारण हो, जसले गर्दा लोकतन्त्र आएर पनि त्यसको अनुभूति आएन । मानव जीवनमा चरित्र भन्ने कुरा निकै ठूलो कुरा हो, सबभन्दा ठूलो कुरा हो ।
एउटा बुज्रुकले अर्को बुज्रुकसित भनेछ–एउटा असल केटा छ । खानदानी हो । धनीमानी पनि छ । त्यसलाई एउटी राम्री केटी चाहिएको छ । केटी सुशील, कुल घरानकी हुनुप¥यो । माने, बत्तीस लच्छिनले युक्त भएकी कन्या चाहियो । केटी तिरका बुज्रुकले भनेछ–एकदम ठीक । तपाईंले भने जस्ती एउटी केटी छ । बत्तीसमा एउटा मात्र लक्षण कम छ । त्यो एउटाले फरक पर्दैन । ल, वाचाबन्धन गरौं । केटा तिरका बुज्रुकले भनेछ–भन्नुस् न त बाँकी एउटा लच्छिन के हो ? अनि केटी तिरका बुज्रुकले भनेछ–त्यही के त्यही, एउटा सानो लच्छिन छैन । त्यो भनेको चरित्र मात्रै राम्रो छैन ।
प्रवृत्ति, आनीबानी, वर व्यवहार, आचारविचार नै त मान्छेको चरित्र हो । त्यो खराव भएपछि विश्वासको संकट परिहाल्छ । प्रवृत्तिगत कुराहरु अवान्छनीय भए भने एउटै लच्छिनका कारण एकतिस लच्छिनबाट परास्त तिनै कन्या र मुलुक हाँक्ने नेताको अवस्था एउटै हुन जान्छ ।
नेतृत्व बदलिए पनि प्रवृत्ति बदलिएन भनेर जुन जनगुनासो आएको छ, त्यस सम्बन्धमा कुनै स्थूल कुरालाई उदाहरण बनाएर बुझ्ने दुःख गर्नु पर्दैन । अति सामान्य कुरालाई उदाहरण बनाएर पनि बुझ्न सकिन्छ । २००७ सालदेखि आजसम्म विभिन्न प्रकृतिमा नेतृत्व परिवर्तन भए तर नेतृत्वको प्रवृत्तिमा परिवर्तन भएन । २००७ सालमा ठूलै राजनीतिक परिवर्तन भएको हो । जहाँनियाँ राणातन्त्र फालेर प्रजातन्त्र आयो । सत्तामा पुगेकाहरुको प्रवृत्तिमा परिवर्तन भएन । विचौलियाहरुकै हालीमुहाली बन्यो । जसका कारण प्रजातन्त्रको अभीष्ट प्राप्त हुन सकेन । त्यसैलाई आधार बनाएर राजा महेन्द्रले प्रजातन्त्रलाई नै मास्ने धृष्टता गरे ।
२०१७ सालमा निरंकुश राजतन्त्रको निर्दलीय पन्चायती परिवर्तन भयो । त्यतिखेर पनि नेतृत्व परिवर्तन भएको हो, तर प्रवृत्तिमा परिवर्तन भएन । राजाका भाइ–भारदार, दरवारका हुँक्के, बैठके, बगैंचेहरूको हालीमुहाली भयो । जनता चिढिए । अनि ०४६ सालमा राजाको त्यो निरंकुश सत्ता पल्टियो ।
२०४६ सालमा ठूलो राजनीतिक परिवर्तन आयो । निर्दलीय पन्चायत गयो, बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो । त्यसपछि २०५२ देखि जनयुद्ध हुँदै २०६२÷०६३ मा तेस्रो जनआन्दोलन भयो । बृहत् शान्ति सम्झौता भयो । संविधानसभाको चुनाव भयो । अलिकति समय लगाएर भए पनि जनमुखी संविधान बन्यो । संविधान अनुसार तीनै तहको चुनाव भयो । परिवर्तनहरूको आंकलन गर्दा नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन युगान्तकारी परिवर्तन हो । यसबाट संसार नै आश्चर्यचकित भएको हो । तर, अझ पनि प्रवृत्तिगत परिवर्तन नहुँदा जनताको चित्त बुझेको छैन । सबै गति, प्रगति प्रवृत्तिमा आएर अडिएको छ ।
नेता र जनताको जीवनस्तरमा ठूलो अन्तराल भयो । आर्थिक अन्तराल । यही अन्तराल हो जसका कारण २०१७ साल, २०४६ साल र २०६३–२०७५ का राजनीतिक परिवर्तन भए । राजनीतिक परिवर्तनको प्रवृत्ति अनुसार नेतृत्व परिवर्तन भए । नेतृत्व बदलिए पनि प्रवृत्ति नबदलिएका कारण नै जनताले समय समयमा परिवर्तनहरूलाई निषेध गर्दै गएका हुन् । २०६३ सम्म पवृत्तिलाई राजनीतिक आवरणले छोपेर बीचबचाउ भएको थियो । अव त्यो स्थिति छैन । अव प्रवृत्तिगत कलंकलाई मेट्नैपर्छ । नत्र इतिहास माफ गर्नेवाला छैन । २०६३–२०७५ का दश–बाह्र वर्षमा राजनीति हाँक्ने नेताहरु अप्रत्यासित रुपमा धनी भए । जनताका छोराछोरी अरव खाडीतिर भए ।
सर्वप्रथम सरकारका मेरुदण्ड भनेका कर्मचारीले असहयोग गरे । अतिरिक्त आम्दानी खोसिने भयले उनीहरुले असहयोग गरे । उही प्रवृत्तिगत असहयोग । व्यापार असन्तुलन हुँदा व्यापार घाटा बढ्यो । अर्थतन्त्रमा असन्तुलन आयो । यही दश–बाह्र वर्षको अवधिमा नेपालको उर्वर तराई र मध्य उपत्यकाको जमिन सबभन्दा बढी मासिएको छ । यस अवधिमा जग्गा दलालहरु खुव मौलाए । यसै अवधिमा सबभन्दा बढी अन्न आयात भयो । समाजवाद उन्मुख अर्थतन्त्र बनाउने भनेको त भन्दाभन्दै दलाल पुँजीवाद भित्रियो ।
नेताका, मन्त्रीका काममा तालमेल छैन । विचौलियाको हालीमुहाली छ । पिएहरूको बिगबिगि छ । तरकारी किन्ने पिएहरु मन्त्रीभन्दा पावरफुल छन् । मन्त्रीका पुत्र–पुत्रीहरूको चुरिफुरी थामिसक्नु छैन । उही प्रवृत्ति, राजाका भाइ–भारदार, हुँक्के, बैठके, बगैचे प्रवृत्ति । नेता, मन्त्री, सांसद्लाई उदघाटन, विमोचन, अनावरण, शिलान्यासको भ्याइ न भ्याइ छ । आउँदै बेर । जाँदै बेर । बर्थ डेका केक काट्नेदेखि मेला पर्वका रिवन काट्नेसम्मको हतारो छ । काम गर्नलाई कानुन भएन भन्छन् । कानुन बनाउने फुर्सद छैन । कानुन बनाउन संसद्मा सांसद्हरू उपस्थित हुँदैनन् । जिल्ला भ्रमणको रन्को । विदेश भ्रमणको फन्को । साला साली, भाइ भतिजा, भान्जा भान्जी अनि साडीको सप्कोभित्रका नाता कुटुम्बको दानापानी मिलाउनमै व्यस्त छन् तिनीहरु । अफिसमा बसेर निर्णय गर्ने फुर्सद छैन । देशमा नदी नाला दोहन बढेको छ । अनुगमन गर्ने, गराउने फुर्सद छैन । नदी नालाबाट ढुंगा, गिट्टी, बालु, छर्री निकाल्न ठेक्का लगाउने फुर्सद नभएर खुलेआम चोरी बढेको छ । अरवौंको राजस्व गुमेको छ ।
नेताहरुले उदघाटन, शिलान्यासको कामै नगर्ने भन्न खोजेको होइन, उदघाटन गर्ने र शिलान्यास गर्ने आवश्यक विषय कुन हो, त्यसलाई निक्र्यौल गरेर मात्र त्यो काम गर्नुपर्छ भन्न खोजिएको हो । कहाँ गएर सरकारको विशेष निर्णय सार्वजनिक गर्न सकिन्छ, नयाँ सन्देश प्रवाह गर्न सकिन्छ, त्यस्ता कार्यक्रम रोजेर प्रतिनिधिमूलक रुपमा कार्यक्रममा सामेल हुनुप¥यो । एउटा वडा अध्यक्षले गर्ने काममा राज्यको गाडी घोडा खर्च गरेर मन्त्री र उच्चपदस्थ नेताहरुले समय बर्बाद गर्नु एकदमै नराम्रो भएको छ । कतिपय निर्णयहरु हतारमा गर्ने, फुर्सदमा पछुताउने, फिर्ता लिने भइरहेको छ । बस सिण्डिकेट तोड्ने काम त्यस्तै भयो । ठेकेदारलाई कारवाही गर्ने काम त्यस्तै भयो । सिण्डिकेट तोड्ने काम जनहितमा थियो । जनहितको त्यो निर्णयलाई नेतृत्वकै हुँक्के, बैठकेका प्रभावमा निष्क्रिय पारियो । कमिशनतन्त्रमा चलेको ठेक्कातन्त्रलाई कारवाही गरेर अव कच्ची काम होइन, पक्की काम गर्नुपर्छ भन्ने जनहितको निर्णय राम्रो थियो । तर, त्यस राम्रो निर्णयलाई विचौलियाहरूकै चंगुलमा परेर निश्प्रभावी बनाइयो ।
यो सब पुरानै प्रवृत्तिको अवलम्वनका कारण भएको छ । यसलाई चिर्नुपर्छ । इच्छाशक्ति हुनुपर्छ, चिर्न सकिन्छ । सर्वप्रथम नेतृत्वको जीवनशैली सादा हुनुप¥यो । नेतृत्व भन्दा मन्त्रीहरूको, पार्टीका नेताहरूको र जनप्रतिनिधिहरूको जीवनशैली सादा हुनु प¥यो । निर्णय गर्ने मन्त्रीहरूको जीवनशैली सादा हुनुप¥यो । नीति बनाउने जनप्रतिनिधिहरूको जीवनशैली सादा हुनुप¥यो ।
कार्यान्वयन गर्ने मुख्य कर्मचारी स्वच्छ हुनुप¥यो । यति भएमा सजिलैसित प्रवृत्तिगत दोषलाई परास्त गर्न सकिन्छ । सादा जीवन भएपछि थोरै खर्चमा गृहस्थाश्रम चल्छ । घरखर्च सामान्य भएपछि घर हुने मन्त्री र सांसदहरूले घर छैन भनी राज्यलाई ढाँटेर घरभाडा लिनु पर्दैन । पुरुष सांसदले महिला सांसदले खाने औषधिको बिल पेश गरेर राज्यबाट पैसा लिनु पर्र्दैन । सादगीमा आएपछि मन्त्रीहरूले चिल्ला गाडीको रवाफ देखाउन पनि पर्दैन । राज्यको काम छोडी विदेश भ्रमणको ताना बुनेर डलर जोड्नु पर्दैन ।
कुनै ठेकेदारसित झुक्नु पर्दैन । विचौलियालाई अघि सारेर अकुत धन आर्जन गर्न पर्दैन । छद्म नाममा जग्गा दलाली गर्न पर्दैन । छद्म नाममा थरीथरीका व्यापार व्यवसाय गर्न पर्दैन । तस्करहरूलाई कडा भन्दा कडा कारवाही गर्न सकिन्छ । चरित्र चाहियो चरित्र । चरित्र भएपछि कसैसित हार्नु पर्दैन । जितेको जित्यै हुन्छ । शिर ठाडो हुन्छ ।
मुलुकका मन्त्री र मन्त्रालयका सचिवले मात्र एक पैसा घुस नखाने हो भने अरु कसैले कत्ति पनि घुस खाने हिम्मत गर्दैन । तव भ्रष्टाचारमा शुन्यशिलता भइहाल्छ । सुशासन, सदाचार कायम हुन्छ । सम्पूर्ण विकृति विसंगति हट्छन् । मुलुक सुन्दर हुन्छ । शान्त हुन्छ र संमृद्ध हुन्छ । सुखी नेपाली, संमृद्ध नेपालका लागि नेताहरूले जनतासित मागेको भोट सार्थक हुन्छ ।
परिवर्तनका बाहकहरूको दुई तिहाईको सरकार छ । नेतृत्व इमान्दार, नैतिक, स्वच्छ र चरित्रवान् भएका खण्डमा मुलुक बन्छ । नेतृत्व चरित्रवान् हुन्छ भने प्रतिपक्षको कुनैपनि अवरोधले गलाउन सक्दैन । चरित्रबल नै सबभन्दा ठूलो बल हो । अहिलेको समस्या भनेको प्रवृत्तिको समस्या हो । राजनीतिले गन्तव्य पक्रिसकेको छ ।
गन्तव्य तय भएको अवस्थामा इच्छाशक्ति हुन्छ र चरित्रबल हुन्छ भने पुरानो कचडा प्रवृत्तिलाई सजिलै धुन, पखाल्न सकिन्छ । अनि गन्तव्यमा अवश्य पुग्न सकिन्छ । अन्यथा भने ठूलो दुर्घटना हुन सक्छ । अन्यथा भयो भने जुन जोगी आए पनि कानै चिरेका भनेर जनता निराश हुनेछन् । त्यस बखत इतिहास माफी दिंदैन, कडा सजाय दिन बाध्य हुन्छ । यस लेखनको मक्सद रहेको छ– लोकतन्त्र आयो, त्यसको अनुभूति आएन । अनुभूति चाँहि आउनैपर्छ । नआई विकल्प छैन ।
Ads

सम्बन्धित पोष्टहरू