Ads

शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव : एमाले अध्यक्ष ओलीद्धारा उद्घाटन


काठमाण्डौ । दोलखाको पर्यटकीय गन्तव्य शैलुङमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८ शुरु भएको छ ।

शैलुङका थुम्काहरुमा जमेका हिउँका थुप्राहरुमाथि बसेर सयौं स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

दोलखा जिल्लाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको सीमामा पर्ने शैलुङको भूमिमा हुने महोत्सवको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मनमोहक शैलुङभित्र लुकेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक पर्यावरण र आध्यात्मिक विविधताको थप उजागर हुने विश्वास लिइएको छ । तीनवटै पालिकाले पूर्वतयारी सकिसकेका छन् । श्रष्टाहरु शैलुङ पुग्नेक्रम विहिवारदेखीनै पुग्नेक्रम सुरु भएको छ ।

तामाङ भाषामा लुङको अर्थ थुम्का हुने र एकसय वटा थुम्का भएकाले उक्त क्षेत्रलाई शैलुङ भनिएको विश्वास स्थानीयको छ । एक–एक गरी गन्ती गर्दा कम्तिमा एकसय वटा थुम्का रहेको र प्रत्येक थुम्कासँग आध्यात्मिक महत्व रहेको विश्वास गरिन्छ ।

यसै अवसरमा बृहत्तर विकास कोषको स्थापना गरेर शैलुङको समग्र विकासमा जुट्न तीन वटा गाउँपालिकाले साझा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

शैलुङभित्रका सयौं साना–साना पहाडहरु एकपछि अर्को उक्लँदै ओर्लँदै गर्दा सगरमाथा, अन्नपूर्ण, गणेश, गौरीशंकर हिमाल र श्रृङ्खलाहरु आँखाअघि आइपुग्छन् । समुन्द्री सतहबाट तीन हजार एक सय ४६ मिटर उचाइमा पुग्दा देखिने अद्भूत दृश्य र चारैतिर आँखा लगाउँदा प्राप्त हुने आत्मानुभूति नै शैलुङको पहिलो आकर्षण हो ।

शिशिर ऋतुभरी थुम्काहरु अर्धढाक्ने गरी हिउँले भरिनु शैलुङको दोस्रो आकर्षण हो । डाँडालाई घेरो हालेर तीन सय जति प्रजातिका जडिबुटीको वनजंगल प्राकृतिक रुपमा रहनु तेस्रो आकर्षण हो । हिन्दू र बौद्धका समान आस्था र अस्तित्वका तीर्थस्थलहरु हुनु यहाँको चौथो महत्व हो ।

परापूर्वदेखि शैलुङका डाँडा र वनपाखाहरु चौरी, घोडा र गाईवस्तु र वाख्राका चरिचरण क्षेत्र हुन् ।

Ads

सम्बन्धित पोष्टहरू