काठमाण्डौ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन् ।
उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक एडिबीको सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन ।
उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए । मुख्य मन्त्री पाण्डेले भने “विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक हुनुपर्छ अनिमात्र क्षमतावान् जनशक्ति उत्पादन हुन्छ ।”
मुख्यमन्त्री पाण्डेले फरक प्रसङ्गमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताएका छन् ।
“सैन्य रणनीतिभित्र नपर्ने अमेरिकाले भनिसक्यो, हामीले निकै छलफल गरी अनुमोदन गरेका हौँ, व्याख्यामक टिप्पणी उसले मान्दैन भने हामीले पनि सहायता लिनैपर्छ भन्ने छैन”, उनले भने ।
मन्त्री पाण्डेले स्थानीय तह बलियो बनाएमात्रै दीर्घकालीन विकासको लक्ष्य पूरा हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्