नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले लिखित फरक मत प्रचण्डलाई बुझाए।
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहालमा वैचारिक समस्या देखिएको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य वाचन गर्दै नेता श्रेष्ठले अध्यक्ष दाहालमा वैचारिक समस्या देखिएको आरोप लगाए।
नेता श्रेष्ठले अध्यक्ष दाहालमा व्यक्तिवादी प्रवृत्ति हावी भएको समेत आरोप लगाए ।
पार्टीको केन्द्रीय समितिको बैठकमा एमसीसीका विषयलाई प्रवेश नगराउने अध्यक्ष दाहालको चाहना भए पनि नेता श्रेष्ठलगायत नेताको दबाबपछि एमसीसी मुद्दालाई केन्द्रीय समितिमा प्रवेश गराइएको हो।
एमसीसी संसद्बाट पारित भएसँग माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ। जसका कारण श्रेष्ठलगायत नेताले पार्टी छोड्नसक्ने वा पार्टीभित्रै अन्तर्संर्घष गरेर बस्ने यही बैठकपछि थाहा हुने श्रेष्ठ पक्षका नेताको दाबी छ।
एमसीसी संसद्बाट पारित भएपछि १६ फागुनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीकै कारण पार्टी छोड्न चाहने व्यक्तिले पार्टी छोड्न सक्ने भन्दै श्रेष्ठ लगायतका नेतालाई चुनौति दिएका थिए।
उता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण दिएका छन् । एमसीसीकै विषयमा पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेको बेला प्रचण्डले एमसीसीको सम्बन्धमा आफूले लिएको निर्णयको बचाउ गर्दै लामो प्रष्टीकरण दिएका हुन् ।
एमसीसीकै विषयमा करिब आधा घण्टा बोलेका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर ब्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताए ।
माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ । एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले बैठकमा व्याख्यात्मक घोषणासहितको एमसीसी नै लागू हुने भएकाले सबै ढुक्क हुनुपर्ने बताएका थिए । माओवादी बिनै एमसीसी पारित गर्नका लागि सभामुखलाई महाभियोग समेत लगाउने तयारी थाहा पाएको प्रचण्डको भनाइ थियो । एमाले र काँग्रेस मिल्दा सभामुखको पद पनि जाने प्रचण्डको दाबी थियो ।
बैठकमा माओवादी केन्द्रका तीन नेताले अमेरिकी सहयता परियोजना एमसीसीबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित फरक मत बुझाएका छन् ।
आफ्नो फरक मत दर्ज हुनुपर्ने भन्दै नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले लिखित फरक मत प्रचण्डलाई बुझाएका हुन् ।
अर्को बैठक आइतबार ११ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्