Ads

चितवनमा कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने


काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ । शुधmबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त सकेनन् । सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । कांग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको ५१ प्रतिशत मत प्राप्त हुनु पर्ने हुन्छ ।

कांग्रेस चितवनको सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए । संस्थापन पक्षबाट बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ उम्मेदवार छन् भने इतर पक्षबाट ४ जना उम्मेदवार छन् । इतर पक्षबाट हालका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दिएका थिए ।

शुक्रबार भएको मतदानमा कुल २ हजार ८ सय २० मत खसेको थियो । जसमा सभापतिमा संस्थापन इतर पक्षका खनालले सर्वाधिक ७ सय ४६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका श्रेष्ठले ६ सय ६२ मत पाए । सभापति पदमा १०१ मत बदर भएका थिए ।

निर्वाचन अधिकृत ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार दोस्रो चरणको निर्वाचनको कार्यक्रम शनिबारका लागि तोकिएको छ । शनिबार दिउँसो साढे १२ बजेदेखि साढे ४ बजेसम्म मतदानको कार्यक्रम सञ्चालन हुने छ । सभापति पदका लागि यस अघि भएको निर्वाचनमा पहिलो र दोस्रो हुने उम्मेदवार बीच प्रतिस्पर्धा हुनेछ । जसमा खनाल र दोस्रो स्थानमा रहेका श्रेष्ठ बीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू