Ads

अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरुले उचाल्दिए र भत्काइदिए पुग्ने तर कांग्रेसले सबै सम्हाल्नु पर्ने बताए । पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले कम्युनिस्ट तर्फ इकित गदै भने, ‘हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ । अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ ।’

थापाले अगाडि भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् । सरकारमा आउँदैन भने पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने छ ।’

थापाले नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको बताए । नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि उनको भनाइ थियो ।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस ५० वर्षसम्म सरकारमा आउँदैन भन्ने अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले भने, ‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?’

महामन्त्री थापाले स्थानीय तहको चुनाव तोकिएकै मिति वैशाख ३० गते नै भए पनि संघीय चुनाव भने अगाडि पनि हुन सक्ने बताए । प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गरिरहने हो भने संघीय चुनाव अगाडि पनि हुन सक्ने उनको भनाइ थियो ।

Ads

सम्बन्धित पोष्टहरू