काठमाडौं । स्थानीय उपभोक्ता समितिहरुमा समेत मोर्चाबन्दी गर्दै आएका सत्ता गठबन्धनका दलहरु नेपाल बार एशोसिएशनको निर्वाचनमा पनि मिलेर लड्ने तयारीमा छन् ।
नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को नेतृत्वमा गठबन्धन चुनावमा जाने भएको हो । बार नेतृत्वका लागि सोमबार उम्मेदवारी मनोनयन हुँदैछ । गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी निकट वकिलहरु समावेश छन् ।
शनिबार र आइतबार भएको गठबन्धन निकट वकिलका संगठनहरुको बैठकले सत्ता गठबन्धन मिलेर लड्ने समझदारी गरे पनि अझै छलफल बाँकी रहेको नेकपा एस निकट कानून व्यवसायीबाट वार्तामा सहभागी अधिवक्ता डेकेन्द्र सुवेदीले बताए ।
अध्यक्षमा डिएलएका सुनिल पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एकजनालाई अघि बढाउने तयारी छ । महासचिवमा माओवादी निकट दिनमणी पोखरेलको नाम आएको छ । पोखरेलले भने गठबन्धन मिलेर जाने सैद्धान्तिक सहमति भए पनि टुंगो लागि नसकेको बताए ।
यसअघि गठबन्धनबाट माओवादी आवद्ध रमण श्रेष्ठ अध्यक्ष बनाउन लबिङ भए पनि डिएलएले अरुलाई नेतृत्व नदिने अडान लिएपछि श्रेष्ठको नाममा सहमति भएन । श्रेष्ठ भने असन्तुष्ट बनेर नेकपा एमाले निकट पीपीएलएका नेताहरुसँग संवादमा जुटेका छन् ।
स्रोतका अनुसार अध्यक्षसहित १५ सिट कांग्रेसले र महासचिवसहित १० सिट गठबन्धनका अन्य दल निकट कानून व्यवसायीले भागबण्डा गर्ने सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्