काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव सार्ने रणनीतिमा सत्ता गठबन्धन रहेको आशंका गरेको छ। सत्ता गठबन्धनमा अहिले भइरहेको अर्ली इलेक्सनको बहस चुनाव सार्नका लागि भएको एमालेको आशंका छ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले स्थानीय चुनाव घोषणा भएर तयारीका क्रममा रहेको समयमा अर्ली इलेक्सनको बहस सत्ता गठबन्धनमा चल्नु चुनाव सार्ने खेल हुनसक्ने आशंका व्यक्त गरे।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले समय अगावै चुनाव गर्नेगरी भइरहेको बहस स्थानीय तह चुनाव टार्ने नियतले आएको बताए।
बैठकअघि पत्रकारसँग कुरा गर्दै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने विषयमा छलफल भइरहेको संसद् भवन परिसरमै बताएका थिए।
अचानक अर्ली इलेक्सन र संसद् विघटन गर्ने कुरा आउनु सत्ता गठबन्धनको कतै हेरेर कतै हिर्काउने रणनीति भएको नेम्वाङले बताए। उनले अहिले बाहिर आएको बहस ‘सोझो हिडाइँ’ नभएको बताए।
प्रतिक्रिया दिनुहोस्