झापा । संकटा क्लब काठमाडौं पाँचौं संस्करणको झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।
डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोफोना फोडेको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।
दुवै टोलीले खेलको सुरुवाती समयदेखि नै आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रामक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो।
२४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोष्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।
५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोष्ट नजिकैबाट बाहिरियो । १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।
खेलको म्याद अफ द म्याच विजेता टिम संकटाका फोफोना फोडे घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईले प्रतियोगिताभर गरेका छन् । ३० फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्