काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा तीन जना नेताले फरक मत अथवा नोट अफ डिसेन्ट राखेका छन् ।नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् ।
उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । नेताहरुले नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयको विरुद्धमा रहेको छ ।
नोट अप डिसेन्टमा भनिएको ‘उक्त दिन बिहान अध्यक्षको निवास खुमलटारमा पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश इन्चार्जहरू बीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नु भएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौँ’, नोट अफ डिसेन्टमा भनिएको छ, ‘उक्त छलफल कुनै निश्चित पार्टी कमिटीको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने व्यवस्था भएन । अतः एमसीसी अनुमोदनसम्बन्धी हाम्रो असहमति लिखित रूपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस् र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ ।’
एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् ।
यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको उनीहरूको भनाइ छ । ‘यस प्रकरणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यतिमात्र होइन, संसदमा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसद्को बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एक दिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयहरूमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ’, नोट अफ डिसेन्टमा भनिएको छ ।
सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमाथि नेताहरुको नोट अफ डिसेन्टु पार्टीको सम्पत्ति भएको बताएका छन्।
शुक्रबारबाट सुरु केन्द्रीय समितिको पूर्ण बैठकमा तीन नेताले पार्टी महाधिवेशन विपरित एमसीसी पारित गर्ने निर्णय गरिएको भन्दै असहमति जनाएका थिए।
प्रचण्डले सोमबारको बैठकमा तीन जनाले राखेको एमसीसी सम्बन्धी नोट अफ डिसेन्ट पार्टीको सम्पत्ति रहेको र यसलाई संरक्षण गरेर राखिने बताएका छन् ।
ुयो विषयमा स्थानीय निर्वाचनपछि छलफल हुने छ , उनले भने, ‘पार्टीमा मतभेद हुनु सामान्य हो, मिलाएर जान सकिन्छ।
केन्द्रीय समितिलाई पूर्णता दिँदै बैठक आज सक्ने तयारी माओवादीको छ।
प्रतिक्रिया दिनुहोस्