काठमाडौं । एमालेबाट संगै बाहिरिएका माधब नेपाल र झलनाथ खनालबिचको सम्वन्ध चिसिदै गएको छ । एमसीसी प्रकरणबाट सम्बन्ध झनै बिग्रिएको छ ।
यतिसम्म कि नेकपा (एकीकृत समाजवादी)को औपचारिक बैठकमै सम्मानित नेताको पदमा रहेका झलनाथ खानालको आलोचना भएको छ ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा खनालको आलोचना भएको हो ।
एमसीसीमा पार्टी नीति विपरितको भूमिका खेलेको भन्दै अध्यक्ष माधव नेपालले समेत खनालको आलोचना गरेका हुन । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको भए पनि खनालले त्यसमा फरक मत राखेका थिए । खनालले संसदको रोष्टममै उभिएर एमसीसी देशका लागि घात भएको भन्दै त्यो पारित गर्न नहुने पक्षमा आफ्ना भनाइ राखेका थिए ।
अध्यक्ष नेपालले एमसीसीमा पार्टीको नीति विपरित किन बोलेको भन्दै खनालको आलोचना गरेका थिए । एमसीसी आफूहरुले पास नगरेको भए पनि कांग्रेसले एमालेको साथ लिएर पास गर्ने भन्दै नेपालले आफूहरुले गलत नगरेको दाबी गरे ।
नेपालले भने ‘एमसीसी हामीले पास नगरेको भए कांग्रेसले केपी ओलीसँग मिलेर पास गथ्र्यो । उनीहरुले गर्दा ठिक, हामीले गर्दा बेठिक हुन्छ ? यो बेला हामीले ठिक गर्यौं भन्नुपर्नेमा तपाईंको भूमिका ठिक भएन ।’
बैठकमा नेता मुकुन्द न्यौपानेले पनि खनालको गतिविधि ठिक नभएको बताएका थिए । त्यस्तै पर्यटन मन्त्री समेत रहेका प्रेम आलेले समेत खनालको आलोचना गरेका थिए । आलेको भनाई थियो ‘तपाईं सम्मानित नेता हो, सम्मानित ठाउँमा बस्नुहोस्,हामीले सम्मान गर्ने ठाउँ राख्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस्