Ads

अधिकार खोज्नेले कर्तव्य पालना गर्न पर्दैन ?


अन्तर्राष्ट्रिय नारी दिवस, हरेक मार्च ८ मा विश्वभर मनाइने गरिन्छ । सर्वप्रथम् संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेबु्रअरि १९०९ मा नारी दिवसको आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलन सन् १९०८ को सम्झनामा २८ फेबु्रअरि को दिन महिला दिवस मनाइएको हो ।
त्यस समय धेरै देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । जसका कारण केहि समयपछि महिला दिवसलाई सोहि क्यालेण्डर अनुसार मार्च ८ मा मनाउन थालिएको हो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो । राजनितिक विषयलाई लिएर यस दिवसको सुरुवात भएपनि अहिले महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानतालगायतका विषयवस्तुलाई प्रथमिकतामा राखेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिन्छ ।

नेपालमा महिला हिंसा विरुद्ध आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । उनले वि.सं १९९८ मा आफ्ना अनुयायीसहित परिवर्तनका लागि खबरदारी गर्दै जल समाधि लिएकी थिइन् । नेपालमा औपचारिक रूपमा सन् २०१७ देखि नारी दिवस मनाउन सुरु गरिएको हो । सन् २०२२ सम्म आइपुग्दा हामीले ११२औँ नारी दिवस मनाइरहेका छौँ ।

नेपालको सन्दर्भमा हेर्दा यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुन्छन् । पहिले जस्तो अवस्था अहिले छैन । अहिले धेरै महिलाहरु आत्मनिर्भर भएका छन् । नेतृत्व गर्ने स्थानमा छन् । उनिहरुलाई कहिँकतै पुरुषले नै अवसर दिएका छन् त कहिँकतै आफ्नै महिला सहकर्मीहरुले । तर अवसर हुँदाहँुदै पनि हामिहरुले आफूलाई नारी दिवसको आडमा कहिले सम्म कमजोर महसुस गर्ने ? वर्षमा एक दिन विहानैदेखि महिला अधिकारका नाराले तातेको सडक हेरेर गर्व गर्ने समय अहिले छैन ।

हक अधिकार मागेर पाउने पनि होईन, यो त संघर्षबाट निर्माण हुने हो । अहिले हरेक ठाउँमा महिलाको सहभागितालाई अनिवार्य गरिएको छ । तर महिलाको निर्णयलाई कार्यान्वयन गर्न समाज अझैपनि हिचकिचाएको देखिन्छ । किनकी महिलाको सफलतालाई लिएर हामी आफै ढुक्क छैनौ, सफलतामाथि अनेक तर्क गरिरहेका हुन्छौ । यो समाजको एउटा तितो सत्य हो ।

अधिकार खोज्दै गर्दा कर्तव्यमा ध्यान दिन जरुरी छ की छैन ? अधिकारको उपभोग गर्नेले कर्तव्य पालना गर्ने की नगर्ने ?

हाम्रो समाजमा कुनै एक महिलाले आफू हिसांमा परेको कुरा खुलेर गरिन् भने ती महिला धेरै आलोचना खेप्न बाध्य हुन्छिन् । आलोचना गर्ने हुल बाहेक अर्को एक हुल पनि छ जसले हक र अधिकारका कुरालाई चर्काे स्वरमा नाराबाजी गरिरहन्छ । चर्को स्वरमा अधिकारको कुरा गर्छौँ तर कर्तव्य निर्वाहमा हामी पलपल चुकिरहेका छौँ । हिंसाको विषयमा हामी आफै अदालत भएर पक्ष विपक्षमा समेत उभिन भ्याउँछौ । कानूनलाई आफै जित्न खोज्छौ सामाजिक संजालमा उर्लिएर । के यो हाम्रो नैतिकता हो ?

अहिले एक नायक र गायीकाको विषयमा धेरैले न्याय अन्याय, हक, अधिकारको कुरा उठाइरहेका छन् । पिडित, पिडक, न्याय, अन्याय हेर्ने काम कानूनको हो । जब हामी नै कानूनको निर्णय पर्खन सक्दैनौ भने, महिलाको निर्णय यो समाजले मान्दैन भनेर गुनासो गर्नु मुर्खता हो ।

नाबालक भनिएकी गायीकाको लागी न्याय माग्नेले यो बुझ्न जरुरी छ, नायक प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा हुनु भनेको अपराधि सावित हुनु होईन । र नायकका लागी बोल्नेले पनि बुझ्नुपर्छ, नायक अझै अपराधि हुन् या होईनन् भनेर प्रमाणित भइसकेको छैन । हामी पक्ष विपक्षमा उभिएर बोल्दै गर्दा पिडित पिडक जो होस् उनिहरुलाई थप पिडा पुग्छ । यो त हालैको एउटा प्रतिनिधि घटना मात्र हो । कुनै पनि व्यक्तीमाथि पिडा पु¥याउने गतिविधि गर्न हामिहरुलाई अधिकार दिइएको छैन ।

त्यसैले नारी दिवसका अवसरमा अधिकार कार्यान्वयनको माग गर्नु भन्दा पहिले कर्तव्यको उचित पालना गर्नु आवश्यक छ । महिला भएकै भरमा अधिकारको नारा घन्काउनु सकारात्मक पक्ष होईन । हिंसा महिला पुरुष जो कोहिबाट पनि हुने गरेको छ । सक्षम हुनका लागि सबैले आ–आफ्नो कार्यक्षेत्रमा रहेर काम गरौँ । हिंसा बन्द गरौँ ।

Ads

सम्बन्धित पोष्टहरू