Ads

जलवायु परिवर्तनको असर कृषिमा देखियो


म्याग्दी । म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता निकायले मानिसको जीविकोपार्जनलाई सहज बनाउने योजना ल्याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले आग्रह गरे।

वातावरणमा आएको परिवर्तनले खाद्यसुरक्षामा असर पारेकाले अनुकूलित खाद्यान्न र पशुपालनका लागि प्रविधिको व्यवस्था गर्न नसके खाद्य असुरक्षा, भोकमरी बढ्ने, देशको अर्थतन्त्र खाद्यान्न आयातमा केन्द्रित हुने उनको भनाइ थियो ।

आयोगले विश्व खाद्य कार्यक्रमसँग मिलेर म्याग्दीका पालिका तहमा अध्ययनसमेत थालेको छ । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले खेती गर्ने पात्रोमा परिवर्तन आएको, खडेरी, असिना, हिमपात र वन्यजन्तुले बालीनाली क्षति गरेर कृषक पीडित भएका बताए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सस्तो र सजिलोका लागि आयातित वस्तुमा निर्भर हुने, जग्गाजमिन बाँझो राख्ने समस्याले रैथाने जातका बाली लोप हुन थालेको बताए । जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले घट्दो उत्पादन र बढ्दो आयातले सिर्जना गरेको असन्तुलत घटाउन राज्यले कृषिउपजको बजार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू