Ads

‘पिर’ विवादमा प्रकाश सपूतको स्पष्टिकरण– यो छर्लङ्गै देखिएको विषय होइन र?


काठमाडौं । गायक प्रकाश सपूतले ‘पिर’ बोलको गीतमा उठेका विषयमा स्पष्टिकरण दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले केहि दिन अघि सार्वजनिक भएको गीतमा उठेको विषयलाई लिएर एक लामो वक्तव्य जारी गरेका छन् ।

एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने आफुलाइ महशुस भएको उनले लेखेका छन् । उनले आफुले सवै किसिमका प्रतिक्रिया र टिप्पणीहरुलाई दर्शक स्रोताकै नजरबाट हेरिरहेको पनि उल्लेख गरेका छन् । “मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु । ‘पिर’बाट मैले युद्धकै जग÷बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौं। समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं।” उनले लेखेका छन् ।

प्रकाशले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस मात्रै गरेको बताए। “मलाई लागेको–यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै,पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?” उनले अहिले तयार पारेको गीतको विषय ६ बर्ष अघि नै सोचेको जनाएका छन् । त्यसबेला दोहोरी साँझमा काम गर्दा थुप्रै पुर्व लडाकु सहकर्मी रहेको समेत उल्लेख गरेका छन् ।

उनले लेखेका छन् “गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने,  पकाउने, पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए । उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्कियो ।” प्रकाशले गीतमा कुनै पनि राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको र प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा भएको स्पस्ट पारेका छन्।

उनले भिडियोमा देखाइएका पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरेको पनि दावी गरेका छन्। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरेको र केहि पात्रहरु पढेपछि आम मानिसका भोगाई र संवेदनाहरु बुनेर भिडियो बनाएको प्रकाशले लेखेका छन्। उनले आफ्नो पेशा र पहिचान पनि यहि नै भएको उल्लेख गरेका छन्। प्रकाशले प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको भए आत्मालोचना गर्ने र भिडियोको सुरुमा यो कुरा लेखेकोसहित माफि मागेको बताएका छन्।

उनले भिडियोमा व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँ पनि गलत नअर्थ्याइएको तर भएभरका परिवर्तनको जस दिइएको दावी गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू