काठमाडौँ । भारतको आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण हुने भएको छ । पुस्तकालय निर्माणका लागि भारतले ३१ करोड ६९ लाख रुपैयाँ उपलब्ध गराउने भएपछि निर्माण कार्य सुरु गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज(मंगलबार) संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको शिलान्यास गरेका छन् । त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, केन्द्रीय परियोजना कार्यान्वयन इकाई दूतावासका प्रतिनिधिलगायतको उपस्थितिमा आज शिलान्यास भएको हो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ तीन तले भवनमा आधुनिक सुविधासहित विभिन्न शैक्षिक खण्डहरू समावेश हुनेछन् । भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा भारतको प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआइ) ले यस पुस्तकालयको निर्माणका लागि प्राविधिक विशेषज्ञता प्रदान गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई २५ करोड अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सो रकममध्ये ५ करोड अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ ।
हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।
उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्