काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा पार्टीको नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।
अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको सचिवालय बैठकले थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको छ ।
समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई छन् ।
त्यस्तै डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा,डा. अन्जान शाक्य,डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) समिति सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले निर्वाचन विभागलाई पनि पूर्णता दिएको छ । बैठकले विष्णु रिमाल प्रमुख र निरज आचार्य उपप्रमुख रहेको विभागलाई पूर्णता दिएको हो ।
विभागमा चुडामणी आचार्य, गणेश प्रसाई, अनन्त पौडेल, नुमकान्त पौडेल, दिपेन्द्रवहादुर थापा र रणवहादुर चन्द रहेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
बैठकले पार्टी स्कूल सञ्चालन तथा पाठ्यक्रम निर्देशिका समेत पारित गरेको छ । सोही बैठकले पार्टी स्थापना दिवस वैशाख ९ गते देशका सबै तहमा र केन्द्रीय कार्यालयमा भव्यतासाथ मनाउने निर्णय गरेको उनले बताए ।
सोही दिन केन्द्रमा स्थानीय तह निर्वाचन घोषणापत्र जारी गर्ने, ७५३ स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र वरिष्ठ कम्युनिस्टहरुलाई आ आफ्नो तहका कार्यक्रममा सम्मानित गर्ने कार्यक्रम तय भएको छ ।
बैठकले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुको व्यवस्थापनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्