काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नुहने प्रष्ट पारेका छन् ।
संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको टिकट वितरणमा अन्याय हुन नदिने बताए ।
स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिकाका मेयरसम्म जो-जो अहिले जितेका छन्, राम्रो काम गरेकाहरूलाई टिकटमा पहिलो प्राथमिकता दिइने अध्यक्ष ओलीले बताए ।
ओलीले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने । कतै नराम्रो गरेकालाई, बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ । यो चुनाव पार्टीले जित्नका लागि हो ।’
ओलीले आउने स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत जनप्रतिनिधि एमालेले जित्ने दाबीसमेत गरे ।
अध्यक्ष ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्ने गरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘आजको बैठकमा अध्यक्ष ओलीज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने , ‘तपाईहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस्