Ads

होली पर्व : बिर्सौं दुश्मनी, मनाऔं उत्सव


सविना पौडेल

प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिन हिन्दू संस्कृति अनुसार मनाइने होली पर्वको इतिहास त्रेता युगसँग जोडिएको छ । रङ्गहरूको चाड होली पर्व नेपाली तथा भारतीयहरूले मनाउने चाड हो । यस पर्वलाई फागुआ पनि भनिन्छ ।

हिरण्यकश्यपु देवताहरूबाट वरदान प्राप्त गरेका कारण शक्तिशाली थिए । उनले आफ्नो राज्यमा विष्णुको पूजा नहोस् भनेर आदेश दिएका थिए । तर उनकै पुत्र प्रह्लाद विष्णुका परम भक्त भईदिए । ईश्वरप्रति प्रह्लादको अटूट आस्था रहेको थियो ।

जसका कारण हिरण्यकश्यपुले आगोबाट जलेर नमर्ने बरदान पाएकी आफ्नै बहिनी होलिकालाई पुत्र प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाए । प्रल्हादलाई आगोमा भष्म पार्न खोज्दा होलिका आफै भष्म भएकी थिइन् । तर भगवान विष्णुका परम भक्त प्रल्हादलाई केही नभएकाले असत्यमाथि सत्यको विजय भएको दिनको स्मरण गर्दै होली पर्व मनाउने गरिन्छ ।

होलीको अर्को एउटा महत्व पनि छ । यस पर्वले पुरानो मनमुटाव समाप्त गर्दै दुश्मनी बिर्सिएर एक–आपसमा अद्धित्तिय सम्बन्ध स्थापित गर्छ भन्ने विश्वास रहिआएको छ ।

होली खेल्ने दिनभन्दा अघिल्लो दिनको राती होलीका दहन गर्ने प्रचलन रहेको छ । राती होलीका दहन गरिसकेपछि बिहान उत्सवका साथ पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । एक–आपसमा विभिन्न रङ्ग छरेर मनाईने होलीले आत्मियता बढाएको आभाष हुन्छ ।

काठमाडौँ उपत्यकामा वसन्तपुर दरबार अगाडि विशेषरूपले सजाएको चीर–लिङ्गो गाडेपछि सुरू भएको होलीपर्व पूणिर्माको राति उक्त चीर –लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ । त्यस्तै भक्तपुरमा चिर स्वायगू अर्थात लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ भने लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली पर्व समाप्त भएको मानिन्छ ।

पहाडदेखि तराई र गाउँदेखि सहरसम्म उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वले समाजमा सद्भाव सृजना गर्दछ । एकआपसमा सद्भाव बढाउनका लागि रमाउँदै खेलिने होलीमा रङ्ग लगाउँदा कसैको इच्छा विपरीत अर्को व्यक्तीलाई असर पुग्ने गरी रङ्ग लगाउनु राम्रो होईन । हरेक व्यक्तीमा पर्वको खुशी नहुनपनि सक्छ । विरामी परेको, शोकमा रहेको या कुनै तनावमा हिडिरहेको व्यक्तीमाथि रङ्ग लगाउनु भनेको उसलाई थप पिडा दिनु र उसको आत्मसम्मानमा चोट पुर्‍याउनु हो । यस्तो कार्यले आत्मियता होईन नैराश्यता सृजना गर्दछ ।

पूर्खौदेखि चलिआएको संस्कृतिको सम्मान गर्दै मनाईने पर्वमा पछिल्लो समय देखिएको अराजक गतिविधि जस्तै, मादकपदार्थ सेवन गर्ने, अपशब्द प्रयोग गर्ने, लोला हान्ने, मोविल, पेन्टजस्ता मानविय स्वास्थ्यमा असर गर्ने पदार्थको प्रयोग गर्ने, सवारी साधनमा हो हल्ला गर्दै हिड्नेलगायतका क्रियाकलापहरु संस्कृतिको नाममा हुने विकृति हुन् । यस्तो क्रियाकलापले सामाजिक एकता होईन सामाजिक शान्ती भङ्ग हुन पुग्छ । यसरी मौलाएका विकृति, विसंगतिको अन्त्य गर्दै आफ्ना साथी, घरपरिवार र इष्टमित्रसंग हर्षउल्लासकासाथ पर्व मनाउने वातावरण सृजना गरौँ । पर्वको मुल्यमान्यतालाई सधै  बचाईराखौँ ।

Ads

सम्बन्धित पोष्टहरू