काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका केहि नेताहरुमा अतिवादी प्रवृति देखिएको बताएका छन् । बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको बताए ।
प्रचण्डले यहि अवस्थामा प्रतिपक्षी एमालेसँग तालमेल नहुने तर कांग्रेसका केहि नेताहरुको अतिवादी चिन्तनमा सुधार नआए के हुन्छ भन्न नसकिने बताए ।
बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, कांग्रेसका केहि अतिवादी नेताहरुको व्यवहारले त्यसमा असर गर्छ ।’
उनले अगाडि थपे, ‘अहिले प्रधानमन्त्रीले गठबन्धनका विरुद्ध बोल्न बन्द गर्न भनेको छ । तर कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । कांग्रेसको व्यवहारले परिस्थिति के हुन्छ भन्न सकिन्न ।’
गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।
‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भने । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।
आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राख्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्