काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावमा अहिलेका जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने आचारसंहितामा राखेको प्रति एमालेले आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहितामा बहालवाला जनप्रतिनिधिले उम्मेद्वारी दर्ता गराउने हो भने पहिला पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेको छ ।
आयोगको आचारसंहिता प्रति आपत्ति जनाउदै एमाले उपमहासचिव विष्णु रिमाले भनेका छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन, स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’
निर्वाचनमा जाँदा पद्को दुरुपयोग नहोस् भन्ने बारेमा सोच्नु पर्ने तर त्यसलाई देखाएर काम नै रोक्नु ठीक नहुने उनको ठहर छ । रिमालले कुनैपनि सेवा अबरुद्ध नहोस् भनेर अवधि सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान
आचारसंहितामा किन राख्ने ? सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ९ को ३६ नम्बर दफामा उल्लेख छ ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नु पर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्