काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने संसदीय समिति गठनमा ढिलाई भएको छ । कांग्रेसले चैत ११ गते संसदीय समिति बनाउनका लागि केन्द्रीय समितिको बैठक बोलाएपछि विधानको समयसिमाअनुसार काम नहुने देखिएको हो ।
विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पूर्व अन्तिम निर्णय गरिसक्नुपर्ने’ उल्लेख छ । उक्त विधानअनुसार चैतको १० गते भित्र कांग्रेसले सबै उम्मेदवार तय गरिसक्नुपर्ने छ । निर्वाचन आयोगले यस अघि नै उम्मेदवार मनोनयको मिति बैशाख ११ र १२ गते तोकेको छ । तर पार्टीे विधान अनुसार चैत १० भित्र कांग्रेसका उम्मेदवार निश्चित हुनुपर्ने समयमा संसदीय समिति बनाउनका लागि कांग्रेसले चैत ११ मा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरु पदेन सदस्य रहन्छन् । केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा सभापतिले समावेशिताको आधारमा मनोनित गर्ने व्यवस्था रहेको छ ।
केन्द्रमा बनेको संसदीय समितिलाई छ वटा महानगरका प्रमुख र उपप्रमुख तय गर्ने अधिकार रहेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्