Ads

लेटाङ घटनाको छानबिन गरिने


काठमाडौं । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाको छानबिन गरिने भएको छ । १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् । ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी छानबिन गर्छौं,’ बिसीले भने ।

बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।

आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।

यस्तै, घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । उनको घर खोटाङ रहेको प्रहरीले बताएको छ ।
लेटाङमा कर्फ्यु आदेश
यसैबीच, थप दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासन कार्यालय मोरङले चिसाङ खोला पूर्व, मोरङ्गी खोला पश्चिम, लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । बिहान ७ बजेदेखि निषेधाज्ञा कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ ।

लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू