काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसको अवस्था २०७४ सालको चुनावमा भएजस्तो हुने चिन्ता लागेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले भने, ‘आउने निर्वाचनमा कांग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता लागि रहेको छ।’
कांग्रेसकै कार्यकर्ताहरुले गठबन्धन गर्नु हुँदैन भन्छन् । तर ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान दिनुपर्ने बताए । ‘कांग्रेसका जिल्ला स्तरका नेताकार्यकर्ताहरु गठबन्धन गरेर जान हुँदैन भन्नु हुन्छ । गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्नु हुन्छ । तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यो ध्यान भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् ।’
कोइरालाले गठबन्धन केका लागि भन्ने विषय प्रष्ट हुनुपर्ने बताए । उनले भने, ‘हामीले ९० प्रतिशत भोट अर्को पार्टीका कार्यकर्तालाई नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैन ।’
नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘काँग्रेसको आफ्नै सिद्धान्त छ । राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्रराष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रिक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने ?’
०७४ सालमा कांग्रेससँग गठबन्धन गरेर माओवादी पछि एमालेसँग मिलेको दृष्टान्त दिँदै उनले भने, ‘हामीले गठबन्धन गर्यौं, महन्थ ठाकुर, उपेन्द्र यादवलाई सिट छोड्यौं, कमल थापालाई सिट छोड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई सिट छोड्यौं । तर नेपाली कांग्रेसलाई कसैले सिट छोडेन ।’
उनले गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने तर्क गरे । निर्वाचनमा कांग्रेस जित्नका लागि सबै एकढिक्का भए पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्