काठमाडौं । राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयर सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको दशौँ नम्बरमा छ ।
देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ । प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।
भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरूमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका सहरहरूमध्ये केबल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।
११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्याङ्कमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।
कम्तीमा ९३ सहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठुलो प्रगति गरिरहेका छन्’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।
‘चीनले केही धेरै ठुला सङ्ख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरूले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।
विश्वका दश प्रदूषित देश
१.बंगलादेश
२.चाँद
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल
प्रतिक्रिया दिनुहोस्