कास्की, । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुनेछ ।
सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो ।
चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुग्नुभएको थियो ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्