Ads

महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौँ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार महासङ्घको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ ।

समझदारीअनुसार महासङ्घले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासङ्घले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी सडक प्रदर्शनका अतिरिक्त महत्वपूर्ण गतिविधि गर्नेछ ।

त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै प्रत्यक्ष वैदेशिक लगानी एवम् अन्य लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिमको आयोजनामा महासङ्घले बोर्डलाई प्रत्यक्ष सहयोग गर्नेछ ।

महासङ्घले लगानी प्रवद्र्धनका लागि तयार पार्ने दस्तावेजमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्याङ्क, प्रतिवेदन, संयुक्तरुपमा तयार पारिएका अन्य प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायतमा सहयोग तथा सहकार्य आदान प्रदान गर्नेछन् ।

महासङ्घले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकासलगायतमा संयुक्तरुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछ । सो अवसरमा बोर्डका उपाध्यक्ष एवम् अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड तथा महासङ्घबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफालाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । -रासस

Ads

सम्बन्धित पोष्टहरू